सुनसरी ।
सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीका फिदा हुसेनको हत्याको विषयलाई लिएर तनावग्रस्त दुहबीको जनजीवन सामान्य हुँदै गएको छ ।विरोध प्रर्दशनरत पक्ष र स्थानीय प्रशासनबीच बिहीबार सहमति भएपछि आन्दोलरत पक्षले आफ्नो सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएकाले त्यहाँको जनजीवन सामान्य हुँदै गएको हो ।
बुधबार दिउँसोबाटै सहमतिको प्रयास थालिएकामा बिहीबार सहमति जुटेसँगै दुई दिनदेखि अवरुद्ध कोशी राजमार्गको इटहरी–विराटनगर सडकखण्ड सञ्चालनमा आएको छ ।
गृहमन्त्रीको राजीनामाको मुख्य मागमा अडान लिएका मृतक परिवार पक्षधर अन्ततः सो मुद्दाबाट पछि हटेपछि शव बुझ्ने सहमति कायम भएको नेपाली कांग्रेसका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारीका साथै आन्दोलन परिचालन समितिका संयोजक बेद गच्छदार र मृतकका दाजु मेहदी हुसेनसहितका मुस्लिम अगुवा र दलीय प्रतिनिधिबीचको छलफल निष्कर्षमा पुगेपछि दुई दिनदेखि सडकमा राखिएको हुसेनको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको स्थानीय छ ।
ठूलो सङ्ख्यामा सडकमा उत्रिएका मुस्लिम समुदायसहितको भीडलाई मृतकका दाजु हुसेन र प्रजिअ उप्रेतीले बिहीबार सहमतिका बुँदाबारे जानकारी गराउँदै आन्दोलनका कार्यक्रम फिर्ता भएको घोषणा गरेपछि त्यो क्षेत्रको अवस्था सामान्य बन्दै गएको हो ।मृतक हुसेनको आज शुक्रबार मुस्लिम जातीय परम्पराअनुसार अन्तिम संस्कार गरिने मृतकका दाजु हुसेनले बताए ।
बुधबार बिहान श्रीमतीसँगै घुम्न निस्कीएका बेला हुसेनलाई अज्ञात व्यक्तिको समूहले गोली हानी हत्या गरेको थियो ।
