डडेल्धुरा
बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनाका घाइतेको अवस्थाबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी लिएका छन्।

धनगढीको सेती अञ्चल अस्पतालमा उपचार गराइरहेको ११ घाइतेलाई भेटी मुख्यमन्त्री भट्टले जानकारी लिएका हुन्।डोटी जाँदै गरेको स्कुल बस बिहीबार दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। तीमध्ये ७ जनाको सनाखत भएको छ।
सनाखत हुनेमा दिपायल सिलगढी नगरपालिका–ं ४ बस्ने ३५ वर्षीया शशि विक, सोही नगरपालिका वडा नं ११ बस्ने २५ वर्षीया गोदा भाट, सोही नगरपालिका ८ बस्ने ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल, डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, डोटी शिखर नगरपालिका–१० बस्ने १६ वर्षीय प्रेम बलायरका छोरा रोहित बलायर र ठेगाना नखुलेकी माया रावलको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीले जानकारी दिए।
बिहीबार बेलुकी डा केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो।अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको हो। बसमा ४३ जना यात्रु सवार रहेको बुझिएको छ। बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको थियो।
