काठमाडौं–अर्थमन्त्री डा युवराज खतिवडाले जमिनसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने बताएका छन् ।

नेपाल समाजशास्त्र संघले बुधबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले जमिनसंग जोडिएका सरकारका कतिपय नीतिहरु अव्यवहारिक भएकाले परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए ।
सरकारका सम्पूर्ण आयोजनाहरु, कार्यक्रमहरु जमिनसंगै जोडिएकाले जमिन नै नहुनेमा ती कार्यक्रम लागु गर्न नसकिने अवस्था रहेको उनले उल्लेख गरे ।
पछिल्लो समय ज्याला दर बढेकाले भूमि नभएका श्रममा आश्रित गरिबीको अवस्थामा सुधार आएपनि थोरै भूमि हुनेहरु अझै पनि गरिब रहेकाले साना किसानको बारे सरकारले तत्काल नसोच्ने हो भने गरिबीको अवस्थामा सुधार नआउने दाबी उनले गरे ।
उनले उत्पादनको मुख्य साधन भूमिलाई पछिल्लो समय सट्टाबाजी, शेयर वा वित्तिय उपकरणको रुपमा प्रयोग गर्न थालिएकाले समस्या भएको बताए ।
कृषिमा देखिएका विभिन्न समस्याका बाबजुत सन्तुलित वितरणमा विशेष ध्यान दिन सके नेपाल खाद्यान्नमा आत्मनिर्भर हुनेसक्ने दाबी उनले गरे ।
भूमिलाई पुर्ण रुपमा उत्पादनको साधन बनाउन संस्कृति जस्तो कृषिलाई व्यवसायिक बनाउनुपर्नेमा उनले जोड दिए ।
अर्थमन्त्री खतिवडाले एक तिहाई उत्पादन हुने क्षेत्रमा रहेका दुई तिहाई युवा श्रमिकलाई १० बर्ष भित्र १ तिहाईमा झार्दै अन्यलाई शिप विकास गरि बैकल्पिक व्यवसायमा लैजान सकेमा मात्रै मुलुक सम्वृद्धिको बाटोमा हिडाउन सकिने बताए ।
