चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न हुनेः ज्ञवाली

४ मंसिर २०७५, मंगलवार १५:५१

काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मंगलबार संघीय संसद विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेर स्थगित भएपछि उनले संचारकर्मी माझ चालू आर्थिक वर्ष भित्र मूलभूत रुपमा सम्पन्न हुनेगरी निजी आवास पुनर्निर्माणको कामलाई तीब्रता दिइएको पनि स्पष्ट पारे ।
प्राधिकरणले हालसम्म ४३ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको, ३४ प्रतिशत काम सुरु गरिएको र बाँकि कामलाई पनि तीव्रता दिइएको पनि जानकारी गराएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती निर्माणको काममा भने केही ढिलाई हुन सक्ने पनि उल्लेख गरे ।

प्राधिकरणले अब बाँकि रहेको २ वर्ष ३ महिना भित्र सम्पदासहितको पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने दावी पनि गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका लागि दिइएको पाँच वर्षको समयमध्ये अव २ वर्ष ३ महिना बाँकि रहेको उल्लेख गर्दै सो समय भित्र पुनर्निर्माणको सबै काम सम्पन्न गर्ने बताए ।