कोइराला परिवारसँग कुनै विवाद छैन सभापति देउवा

४ मंसिर २०७५, मंगलवार १५:२८

विराटनगर– नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताए ।

कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने उनले जिकिर गरे । सभापति देउवाले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गरे ।

उनले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै त्यसपछि काङ्ग्रेसभित्र देखिएको विवाद हटेर जाने जिकिर गरे ।