काठमाडौँ,
डेढ महिनाभित्र जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका प्रवक्ता अमन चित्रकारले सन् २०१८ को अन्तिम ९पुस १६० सम्ममा जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने जानकारी दिए ।

तत्काल जम्मा ३४ किलोमिटर दूरीको रेल सेवा पुनः सञ्चालनमा ल्याउन भौतिक निर्माणका काम सम्पन्न भइसकेको जानकारी समेत उनले दिए।
‘ट्रेन सेट’ खरिद गरेर जयनगर–जनकपुर रेलसेवा सञ्चालन गर्ने सरकारको पहिलो प्राथमिकता हो तर सन् २०१८ भित्र नै रेलसेवा सञ्चालनमा ल्याउनुपर्ने समयसीमा भएकाले ‘ट्रेन सेट’ नै ‘वेट लिज’ मा लिएर सञ्चालन गर्ने कि भन्नेबारे छलफल भइरहेको छ उनले भने ।
कुन मुलुकसँग ‘वेट लिज’ मा ‘ट्रेन सेट’ लिने भन्ने अहिलेसम्म तय भइनसकेको जानकारी दिँदै ‘वेट लिज’ मा लिएर भए पनि नेपाल सरकारले आफ्नो पूर्ण स्वामित्वमा नै उक्त रेल सेवा सञ्चालन गर्ने स्पष्ट पारे । यसअघि नै उक्त रेल सेवा सञ्चालनका लागि दुईपटक भार परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भइसकेका छन् । विसं। १९९५ देखि सञ्चालनमा आएको जनकपुर–जयनगर रेलसेवा २०७१ सालदेखि बन्द भएको हो ।
तत्कालीन राष्ट्रपति डा। रामवरण यादवको भारत भ्रमणको क्रममा काँकडभिट्टा ७० किलोमिटर, विराटनगर १९ किलोमिटर, जयनगर–जनकपुर–बर्दिवास ७० किलोमिटर, भैरहवा १५ किलोमिटर, रुपैडिया–नेपालगन्ज १२ किलोमिटर ‘क्रस कन्ट्री लिङ्क’ रेल्वे सेवा निर्माण गर्न भारतसँग सहमति भएको थियो । प्रस्तावित उक्त ‘क्रस कन्ट्री लिङ्क’ रेलसेवाको कुल दूरी ११३ किलोमिटर रहेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।
