पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई परिचयपत्र प्रदान गर्दै सरकारले राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ गरेको छ। पाँचथरको सहिद मञ्चमा गृहमन्त्री रामबहादुर थापाले उनलाई परिचयपत्र प्रदान गरे। सो क्रममा मन्त्री थापाले समेत पाएको परिचयपत्र दुईबीच आदान प्रदान भएको थियो।

यसअघि पनि १०१ वर्षीया भण्डारीबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन थालिएको थियो।पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले परिचयपत्र वितरणका लागि जिल्लामा ५२ हजारभन्दा बढीको विवरण लिइसकिएको बताए। असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि पाँचथरमा विवरण संकलन थालिएको थियो।
एसियाली विकास बैंकको सहयोगमा सरकारले पहिलो चरणमा पाँचथरमा वितरण गर्न लागेको हो । अन्य जिल्लामा पनि क्रमैसँग परिचयपत्र वितरण गर्दै जाने राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्ले बताउँछन् एक लाख १७ हजार परिचयपत्र छपाइका एडिबीले अनुदान दिनेछ ।
जसका लागि करिब ५५ करोड रुपैयाँ खर्च हुने अनुमान छ।एउटा परिचयपत्र छाप्दा करिब तीन सय ५० रुपैयाँ लाग्छ। तर यससम्बन्धी कानुन नबनेकाले निस्शुल्क वितरण गरिनेछ।परिचयपत्र चिप प्रविधिमा आधारित छ। तर यो परिचयपत्रले नागरिकतालई विस्थापित गर्दैन। महानिर्देशक काफ्लेका अनुसार संविधानमा नागरिकता र राष्ट्रिय परिचयपत्र सम्बन्धी दुवै व्यवस्था भएकाले नागरिकता र यो परिचयपत्र फरक हो।
परिचयपत्रमा नागरिकता, लाइसेन्स, राहदानी, सामाजिक सुरक्षा सम्बन्धी परिचय लगायत सबै विवरण समेटिनेछन्। सुरुमा नागरिकता लिएका व्यक्तिलाई मात्र सरकारले राष्ट्रिय परिचयपत्र दिनेछ।राष्ट्रिय परिचयपत्रमा दुवै हातका १० वटै औंठाछाप रहनेछन्। स्थायी ठेगानासहित जन्ममिति, आमाबाबु, हजुरबा, श्रीमान्–श्रीमतीको नाम यसमा राखिनेछ।
