काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीताका एक मात्र छोरा प्रकाश दाहाललाई हामीले गुमाएको एक वर्ष पूरा भएको छ। २०३८ असार १७ गते चितवनमा जन्मिएका प्रकाशको नागरिकताको नाम साकार दाहाल हो। उनी व्यक्तिगत संगतमा एकदमै शालीन र शिष्ट स्वभावका थिए।

प्रचण्डको नेतृत्वमा ०५२ फागुन १ गते सशस्त्र विद्रोह सुरु हुँदा प्रकाश काठमाडौंको गोंगबुमा दिदीहरुसँग बसेर पढ्दै थिए। सुरक्षा निकायले प्रचण्डका सन्तान राजधानीमै रहेको सुइँको पाएर चासो राख्न थालेपछि ‘जनयुद्ध’ सुरु भएको ८ महिनामै ०५३ असोजमा उनीसहित दुई दिदी रेणु र गंगालाई भारत लगियो। ०५३ माघमा एकै लगनमा प्रचण्डले छोरीहरु रेणु र गंगाको विवाह गरिदिए।माइली छोरी रेणुको गुल्मी पुर्ख्यौली घर भई भारतीय सेनामा जागिर खाएर पञ्जाबमा घर बनाएर बसेका टिबी पाठकका छोरा अर्जुनसँग र कान्छी गंगाको सिक्किमका नारायण प्रधानसँग विवाह भएको थियो। त्यसपछि प्रकाशले माईली दिदी रेणुको घर पञ्जावमा बसेर १२ कक्षासम्म अध्ययन पूरा गरे।

०५८ मा माओवादीको पूर्णकालीन कार्यकर्ता भएर ‘हेडक्वार्टर’ अर्थात् पिता प्रचण्डसँगै रहँदै आएका प्रकाश पछिल्लो समयमा पिताका निजी सचिव थिए। ०६२ फागुन १२ गते पार्टीकै नेता पोष्टबहादुर बोगटीकी कान्छी छोरीसँग भारतमै प्रकाशको औपचारिक विवाह भयो। उनीहरुको यो दाम्पत्य जीवन १६ महिना भन्दा बढि भने टिक्न सकेन । ०६४ जेठ २२ गते सम्बन्ध विच्छेद भयो। त्यसपछि आमा सीताको पहलमा मावली गाउँ कास्की हेम्जाकी सिर्जना त्रिपाठीसँग ०६४ माघ ३ गते प्रकाशले दोस्रो विवाह गरे। सिर्जनाको कोखबाट ०६७ मंसिर १ गते छोरा जन्मिए। समयको क्रम संगै प्रकाश र बिना प्रेमको चक्करमा फँसेका थिए। ०६९ जेठमा सगरमाथा आरोहण गरेर काठमाडौं फर्के लगत्तै प्रकाश बिनासँग ‘फरार’ भए। प्रकाश–बिनाबाट करिब ४ वर्षका एक छोरा छन्।प्रचण्ड परिवारमा प्रकाशको आगमन ३ वटी दिदीपछि भएको थियो। तीन छोरीपछि छोरा प्रकाश जन्मिए ।

प्रकाशको पहिलो कमजोरी काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा देखिएको थियो। त्यहाँ उनले मादक पदार्थ सेवन गरी आफूलाई सम्हाल्न नसकेको अवस्थाको फोटो एक दैनिक पत्रिकाले प्रकाशन गरिदिएपछि प्रकाशका बारेमा सार्वजनिक टिप्पणी सुरु भएको थियो। प्रचण्ड दम्पत्तीको छोरो मोहकै कारण धेरै पुलपुल्याएकाले उनमा मादक पदार्थको कूलतदेखि सांस्कृतिक विचलनसम्म आएको भन्दै अभिभावकहरुप्रति कडा आलोचना हुने गरेको थियो। यस्तो आलोचना पछिल्लो समय मत्थर हुने क्रममा थियो। प्रकाशमा जो कोहीसँग पनि चाँडै घुममिल हुन सक्ने क्षमता थियो । बाबु प्रचण्डसँग भेटघाट गर्न चाहने मान्छेहरु संग नम्र बोली व्यवहारले प्रस्तुत हुने प्रकाशको सबैभन्दा ठूलो गुण थियो। त्यसैले पनि व्यक्तिगत रुपमा भेटघाट, चिनजान, उठबस गरेकाहरु कसैले पनि प्रकाशलाई ‘खराब’ भनेर चित्रण गर्दैनन्। प्रचण्डका भेटघाट कार्यक्रम र गतिविधि क्षण–क्षणमा ‘अपडेट’ हुन्थे। मिडियालाई सहजै पहुँच दिन्थे। प्रचण्ड परिवारमा करिब ४ वर्षअघि जेठी छोरी ज्ञानु केसीको स्तन क्यान्सरका कारण मृत्यु भएको थियो। ‘साइलेन्ट किलर’ अर्थात मौन हत्यारा भनिने उच्च रक्तचापलाई ध्यान नदिँदा छोरा प्रकाशको आकस्मिक हृदयघातबाट निधन भएको छ।
