कार्यतालिका नहेरी म्याद थपियोः नेविसंघ अध्यक्ष महर

३ मंसिर २०७५, सोमबार १२:१८

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले नेविसंघको दुई महिना मात्र म्याद थपिएकोमा असन्तुष्टि जनाएका छन् । उनले यसबारे पार्टीका नेताहरुसँग कुरा गर्ने बताए ।गएराति अबेर सकिएको कांग्रेस केन्द्रीय समितिको बैठकले नेविसंघको म्याद दुई महिना थप्ने निर्णय गरेको थियो । तर, महाधिवेशनको कार्यतालिका नहेरी म्याद थपिएकोमा अध्यक्ष महरले असन्तुष्टि जनाए । उनले ६ महिना म्याद थपको प्रस्ताव गरेका थिए ।

कुनै महाधिवेशन प्रतिनिधिले गलत नियत राखेर काम गरिदिएन भने उसलाई कारबाहीको व्यवस्था नभएकाले महाधिवेशन नहुने खतरा पनि हुने नेताहरु बताउँछन् ।

‘सबै नेता कार्यकर्ताको सहयोग भए दुई महिनाभित्रै महाधिवेशन गर्न सकिन्छ, नसकिने होइन, तर प्रतिनिधि पठायो र काम गर्दिएन भने उसलाई कारबाहीको व्यवस्था छैन । अर्को प्रतिनिधि पठाउँदा समय पनि लाग्छ,’ महरले भने ।

कार्यतालिका नहेरी म्याद थपिएकाले यसबारे पार्टी नेताहरुसँग कुरा राख्ने महरले बताए । ‘म्याद थपेको जस्तो मात्र गर्ने, तर महाधिवेशन नहुने स्थिति आएमा राम्रो हुँदैन,’ उनले भने, ‘त्यसैले यसबारे आज पार्टीका नेताहरुसँग कुरा गर्छु ।’