वीर अस्पतालमा चोरबाटोबाट ५ सय कर्मचारी नियुक्त

२ मंसिर २०७५, आईतवार ०८:०३

काठमाडौं।

देशकै सबैभन्दा पुरानो वीर अस्पतालमा तीन वर्षको अवधिमा नियम मिचेर चोरबाटोबाट झन्डै ५ सय कर्मचारी नियुक्त गरेको पाइएको छ । सेवा सुविधा विस्तारको वहानामा अस्पताललाई कर्मचारी भर्तीकेन्द्र बनाइएपछि सेवा प्रवाहमा समेत नकारात्मक असर परेको छ ।

अस्पतालमा सरकारीबाहेक संस्थानअन्तर्गको कर्मचारीको भर्ना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोगले गर्ने प्रावधान छ । तर सेवा आयोगलाई निष्क्रिय बनाउँदै अस्पतालका उच्च पदाधिकारीहरूले तीन वर्षमा आफूखुसी ४८५ कर्मचारी भर्ना गरेको पाइएको हो ।

कार्यालय सहायकदेखि चिकित्सकसम्म चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहेको वीर अस्पताल र वीरअन्तर्गत रहेको ट्रमा सेन्टरमा ती कर्मचारी भर्ना गरिएको छ ।भर्ना हुनेमा उच्चपदस्थका आफन्त तथा निकटस्थ रहेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ । सेवा आयोगले २०७२ असोज यता कसैलाई पनि नियुक्ति गरेको छैन । तर त्यसयता वीर अस्पताल र सोअन्तर्गत रहेको ट्रमा सेन्टरको विभिन्न विभागमा ४८५ जना कर्मचारी थपिएका छन् ।

नियम मिचेर भर्ना गरिएका कर्मचारीको सेवा सुविधामा राज्यकोषबाट वार्षिक करोडौं रुपैयाँ खर्च भइरहेको छ । मनोमानी थपिएका कर्मचारीमध्ये वीर अस्पतालमा २५८ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २२७ जना कार्यरत छन् ।अस्पतालमा मनोमानी कर्मचारी भर्ना हुन थालेपछि प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले विस्तृत अनुसन्धान थालेको छ ।

उपसचिव यामप्रसाद भुसालको संयोजकत्वमा गठित चार सदस्यीय समितिले छानबिनका क्रममा वीरमा अनियमित किसिमले सयौं कर्मचारी भर्ना गरेको तथ्य फेला पारेको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले जानकारी दिए । छानबिन समितिले दिएको प्रतिवेदनमा वीर अस्पतालमा मनोमानी कर्मचारी भर्ना गरिएको उल्लेख छ ।समितिले अस्पतालका उपकुलपति गणेशबहादुर गुरुङ, रजिस्टार डा। किरण मानन्धर, ट्रमा अस्पतालका निर्देशक, आर्थिक प्रशासन प्रमुखलगायतले कर्मचारी भर्नामा गम्भीर त्रुटि गरेकाले उनीहरूमाथि छानबिन गर्न पनि अख्तियारसमक्ष सिफारिस गरेको छ ।