काठमाडौँ । तीन राप्रपा एकता प्रसङ्गले गति लिन सकिरहेको छैन ।पार्टीका नेताहरु पछिल्लो पटक एकता ढिलाइ हुनुमा एकले अर्कोलाई दोष देखाउँदै आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

सैद्धान्तिक विषयमा सहमति भएपनि पछिल्लो पटक कमल थापा र पशुपति शमशेर राणाबीच भएको छलफलमा चुनाव चिन्ह गाई वा हलो के राख्ने भन्नेमा कुरा नमिलेपछि राप्रपा अध्यक्ष कमल थापाले राणाकै कारण एकता भाँडिएको बताएका थिए । थापाको यो भनाई आएलगत्तै अर्का नेता राणाले आफ्नो कारणले नभई थापाका कारणले ढिलाई भएको तर एकता नभाँडिएको स्पष्टिकरण दिएका थिए ।यसैबीच एकता प्रक्रियाबारे ठोस धारणा तय गर्न राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकको उच्चस्तरीय कार्यसम्पादन समितीको बैठक शुक्रबार बस्दैछ ।
महाराजगञ्जस्थित अध्यक्ष पशुपति शमसेर राणाको निवासमा दिउँसो २ बजेपछि बस्ने बैठकले पार्टी एकताका बिषयमा यसअघि भएका सहमति तथा नमिलेका विषयमा छलफल गरेर ठोस धारणा सार्वजनिक गर्ने स्रोतको दावी छ । पार्टीका एक नेताले एकता कुनै हालतमा नरोकिने भन्दै निर्वाचन चिन्ह र झण्डाका बारेमा बैठकमा छलफल हुने बताए ।
राप्रपाका केही नेताहरुका अनुसार कमल थापा एकता प्रकृयामा नआए राणाको पार्टी, डा। प्रकाशचन्द्र लोहनीको पार्टी र कमल थापासँग असन्तुष्ट रहेका राप्रपाका केही नेताहरुलाई समेटेर एकता घोषणा गर्ने विकल्पमा समेत नेताहरुबीच छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।
