काठमाडौं । विभिन्नमा खेमामा विभाजित पूर्वपञ्चहरु फेरि एकताको प्रयासमा जुटेका छन् । डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी पनि सहमतिमा आए केही दिन समय लिन सक्ने नेताहरुले बताएका छन । नभए कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशम्शेर राणाको राप्रपा प्रजातान्त्रिकबीच भोलि नै एकता घोषणा हुन सक्ने स्रोतले बताएको छ ।

आइतबार पनि तीनै राप्रपाका शीर्ष नेताहरुबीच पार्टी एकता सम्बन्धित छलफल भएको छ । नेताहरुका अनुसार थापा र राणाबीच भने अधिकांश विषयमा सहमति भइसकेको छ । दुबै अध्यक्ष हुने, ८र८ सदस्य राखेर सचिवालय बनाउने र सैद्धान्तिक विषयमा एकता महाधिवेशनले तय गरेको दस्ताबेजलाई मान्ने सहमति भएको छ ।
तर, लोहनीका सन्दर्भमा सहमति जुटेको छैन । उनले थापा र राणासरह आफ्नो पनि हैसियत हुनुपर्ने माग राखेका छन्, जसलाई दुबैले स्वीकार गरेका छैनन् ।
‘लोहनी पनि आउने भए केही दिनपछि एकता होला, नभए भोलि नै एकता हुनसक्छ’ राप्रपाका एक नेताले बताए ।
राप्रपाले आइतबार नै उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ भने राप्रपा प्रजातान्त्रिकको पनि बैठक बस्दैछ ।
एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भने पार्टी एकताबारे सकारात्मक संवाद भइरहेको बताए । भोलि नै पार्टी एकता घोषणा हुने भन्ने प्रश्नमा उनले थाहा नभएको जानकारी दिए ।
