निर्मला पन्तको परिवार अनिश्चितकालीन धर्नामा

२५ कार्तिक २०७५, आईतवार १४:२३

कञ्चनपुर –साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै निर्मला पन्तको परिवार जिल्ला प्रशासन कार्यलय कन्चनपुरमा अनिश्चितकालीन धर्नामा बसेको छ ।

निर्मलाका बाबु यज्ञराज पन्तसहित उनको परिवार आइतबारबाट न्याय माग्दै स्थानीय प्रशासनमा धर्ना बसेको हो ।
आइतबार पन्तको परिवारसहित सयौं सर्वसाधारण स्थानीय मदनचोकमा भेला भएर र्यालीसहित प्रशासन कार्यालय पुगेर धर्नामा बसेको हो ।
र्यालीका क्रममा सहभागिहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राजीनामाको माग समेत गरे ।

निर्मला पन्त गत साउन १० गते साथी रोशनी बमको घरमा गएको बेला बलात्कार पछि हत्या भएको थियो । पन्तको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो । घटनाको छानविनका लागि केन्द्रीय तथा स्थानीय स्तरमा विभिन्न समिति गठन भएपनि हालसम्म निर्मला प्रकरणका खास दोषी पहिचानपछि सार्वजनिक गरिएको छैन ।
जसले गर्दा घटना थप रहस्यमय बन्दै गएको छ भने पीडित परिवारका लागि न्याय टाढिदै गएको छ ।