प्रधानमन्त्री ओलीले फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको प्रशंसा गरे

२५ कार्तिक २०७५, आईतवार ०९:४८

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि शुरु गरेको अभियान आज स्मरणीय रहेको बताएका छन् ।

फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उनले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका हुन् ।

फाल्गुनन्दले समाज सुधारका लागि दिएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मेहुर्केको समाजमा भएका बेथिति देखेपछि त्यसलाई सुधार गर्नेतर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसा गरेका छन् ।

फाल्गुनन्दले अहिंसात्मक अभियानसमेत सञ्चालन गरेका जसले समाजमा शान्ति कामय गर्न महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।

समाज सुधारक फाल्गुनन्दको योगदानको कदर गर्दै सरकारले २०६६ सालमा राष्ट्रिय विभूतिको घोषणा गरेको थियो ।