पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार असफल भए देश ठूलो संकटको भूमरिमा फस्ने बताएका छन । प्रेस सेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रदेश सरकार प्रभावकारी नहुँदा सबै परिवर्तन असफल हुने र देश संकटको भूमरिमा फस्ने बताएका हुन् ।संघीयतालाई जसरी भए पनि असफल हुन नदिई प्रभावकारी बनाउनु पर्ने कुरामा दाहालले जोड दिए । उनले भने, ‘प्रदेश असफल भयो भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायत सबै परिवर्तनहरु असफल हुन्छ, त्यसैले प्रदेश सरकारलाई जसरी पनि प्रभावकारी बनाउनुपर्छ, नत्र देशै संकटको भूमरिमा फस्छ ।’

प्रचण्डले कर्मचारीका कारण नेपालमा राजनीतिक नेतृत्व र सरकार असफल हुने गरेको आरोप लगाए । राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्व बीचको बुझाइमा एकरुपता नहुँदा नयाँ प्रणाली स्थापित हुन समय लागेको उनको भनाइ थियो ।
कर्मचारीकै कारण वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको पनि उनले तर्क गरे । अब संघ सरकारदेखि सबै सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल चलिरहेको र चाँडै त्यसको रिजल्ट आउने उनले बताए ।

प्रचण्डले ओली सरकार अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, राष्ट्रियता, ऐतिहासिक र रणनीतिक रुपमा सफल भएको पनि दाबी गरे । असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनुका साथै छिमेकी देश भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन पनि यो सरकार सफल भएकाले वर्तमान सरकारलाई असफल भन्न नमिल्ने उनले तर्क गरे ।
नेकपा अध्यक्ष प्रचण्डले सरकारले गियर बदल्ने बेला आएको दोहो¥याए । यद्यपि उनले सरकारको गियर बदल्ने भनेको पुराना मन्त्री हटाएर नयाँ मन्त्री बनाउने कुरा नभएको स्पष्ट पारे । उनले भने, ‘गियर बदल्ने भनेको मन्त्री हटाउने भनेको होइन, गति बढाउने हो ।’
