काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । आजको बैठकमा सभापति शेरबहादुर देउवाले नेपाल लोकतान्त्रिक फोरमसँगको सहमतिअनुसार नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने प्रस्ताव ल्याउने तयारी गरेको कांग्रेस उच्च स्रोतले जानकारी दियो । गच्छदारको व्यवस्थापनका विषयमा नेता रामचन्द्र पौडेलसहित अन्य नेताको पनि विमति नभएपनि सभापतिको व्यवहारका कारण आशंका गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
यदि विधान मस्यौदा समितिले आफूहरुको धारणा समावेश नगरे महासमितिमा छुट्टै प्रस्ताव लैजाने चेतावनी संस्थापन इतर समूहले दिएको छ । त्यसका लागि सोमबार नेता पौडेल निवासमा छलफलसमेत भएको थियो । सो समूहले पार्टीको आगामी विधान सहमतिका साथ पारित गर्नका लागि साझा धारणा बनाएर केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने तयारी गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बसेको संस्थापन इतर समूहको बैठकले विधानको मस्यौदामाथि हुने छलफलमा सहमतिका साथ पारितका लागि साझा धारणा बनाएर प्रस्तुत हुने सैद्धान्तिक सहमति गर्दै सभापतिले नमाने छुट्टै धारणा महासमितिमा लैजाने तयारी गरेको छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा सोमबार बसेको संस्थापन इतर समूहको बैठकमा सहमतिका साथ पार्टीको विधान पारितका लागि एकजुट भएर प्रस्तुत हुने बारेमा छलफल भएको नेताहरुले बताएका छन् । रोल्पा कांग्रेसका सभापति अमरसिँह पुनले पार्टीको संशोधन हुन गइरहेको विधान र विधान पारितका लागि सहमति जुटाउन अपनाउने रणनीतिका बारेमा छलफल भएको बताए ।
विधान पारितका लागि संस्थापन समूहले बहुमत प्रयोग गरेर विधान पारित गर्न खोजे संस्थापन इतर समूहले फरक मतसहित आसन्न महासमिति बैठकमा प्रस्तुत हुने समेत रणनीति बनाएको छ ।
‘‘विधानको मस्यौदा प्रस्तुत भएपछि त्यसलाई अध्ययन गरेर, पढेर, छलफल गरेर एउटा सहमति निकाल्ने प्रयास हुन्छ, नभए फरक मतसहित हामी महासमितिमा जान्छौं,’’ पौडेल निवासमा बसेको बैठकमा सहभागी कांग्रेस नेता अर्जुननरसिँह केसीले भने, ‘‘संविधानले गरेको व्यवस्था समेटिने गरी हामीले पार्टीको विधान निर्माण गर्नुपर्दछ । त्यही विधान निर्माणका लागि हामी सबैको साझा सहमति हुन सकोस् भन्ने हो । अन्यथा महासमितिमा विवाद उत्पन्न हुने र निष्कर्षमा पुग्न नसकिने स्थिति आउन सक्छ ।’’
