काठमाडौं– एक सहायक अधिकृतले अवकाश प्राप्त गर्दासम्मको कति रकम आर्जन गर्न सक्ला निजामती सेवाको राजपत्र तृतिय श्रेणीको अधिकृतको तलब हालको स्केलमा भत्तासहित ३२ हजार पुग्ने देखिन्छ।

वन अधिकृतको रुपमा कार्यरत रहेका एक कर्मचारीले करिब २ करोड रकम अवैधानिक रुपमा आर्जन गरेको पाइएको छ। यही बीचमा उनले ३ करोड रुपैयाँ अवैधानिक रुपमा कमाएको रकम खर्च गरेको र त्यसको स्रोत खुल्न समेत नसकको अनुसन्धानबाट भेटिएको छ।यसरी २ करोड अकुत सम्पत्ति आर्जन गर्ने अवकाश प्राप्त सहायक वन अधिकृत हुन्, विनोद कुमार सिंह।
वन मन्त्रालयका आकर्षक स्थानहरुमा जागिरमा बसेका सिंहले अकुत सम्पत्ति आर्जन गरेको रहस्य उनले अवकाश पाएपछि मात्र खुलेको हो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिंह विरुद्ध भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि खोजी गर्दा यो रहस्य खुलेको हो।अख्तियारले सिंहले पदमा रहँदा विभिन्न गैरकानुनी कार्यबाट रकम आर्जन गरी लुकाएको भेटेपछि सोमबार विशेष अदालतमा मुद्दा समेत दायर गरेको छ।
अख्तियारले अनुसन्धानमा अर्को चाखलाग्दो तथ्य समेत फेला पारेको छ। निजामती सेवामा प्रवेश भएपछि हालसम्म डेढ करोड आम्दानी गरेको सिंहको परिवारले खर्च भने साढे ३ करोडभन्दा धेरै गरेको देखिएको छ।सिंहले २०४३ फागुन १३ गतेदेखि जाँच अवधिमा १ करोड ६० लाख २१ हजार ८ आय आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।सिंहले परिवारका सदस्यहरूको चल अचल सम्पत्ति सिर्जना एवं शेयर लगानी, बिमा,बैंक मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी आम्दानीको तेब्बर अर्थात् ३ करोड ५१ लाख ८२ हजार ६ सय ४४ खर्च गरेको विवरण अख्तियारले अनुसन्धान गर्दा फेला पारेको छ।
यसरी हेर्दा करिव २ करोड रुपैया सिंहले गैरकानुनी आर्जन गरेको देखिएको छ । यसरी सम्पत्तिको स्रोत नखुलेको पाइएपछि सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएको भन्दै उनको परिवारको नाममा रहेको सम्पत्ति समेत जफत हुनुपर्ने अख्तियारको दाबी छ। अख्तियारले बयानका लागि बोलायो, उनले पदबाट राजीनामा दिए।
अख्तियारले पदमा रहँदै भ्रष्टाचारको मुद्दा हाल्ने चाल पाएपछि उनले पद त्यागेका थिए।अख्तियारले सिंहसँग अकुत सम्पत्ति आर्जन गरे बराबरको जरिवाना र बिगो समेत असुल हुनुपर्ने दाबी गरेको छ।आयोगले उनकी श्रीमती गीतादेवी सिंह, छोराहरु अनुप कुमार सिंह र अचल कुमार सिंहविरुद्ध पनि मुद्दा दायर गरेको छ।
