नेता कर्मचारीजस्तै बन्दा आन्दोलनका उपलब्धि  गुम्छन प्रचण्ड

१९ कार्तिक २०७५, सोमबार १८:२९

विराटनगर– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन र लामो राजनीतिक संघर्षबाट आएका नेताहरु पनि कर्मचारीजस्तै भइदिने समस्या रहेको बताएका छन् ।

नेपालमा राजनीतिक परिवर्तनका लागि ठूला–ठूला संघर्ष भएपनि पुरानो सोचको कर्मचारी तन्त्रका कारण आन्दोलन र संघर्षको उपलब्धि गुम्ने गरेको प्रचण्डको भनाइ छ । सोमवार मोरङको विराटनगरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक आन्दोलन र संघर्ष जनता, पार्टी र कार्यकर्ताले गर्छन् ।

त्यसलाई रोक्न पुरानो कर्मचारी तन्त्रले बल गर्छ । फेरि आन्दोलनबाट आएका नेताहरुलाई नियम, कानून भनेर यो मिल्दैन हजुर भनेर दिमाग खराब गर्ने काम तिनै कर्मचारीहरुले गर्छन् । केही वर्षपछि त नेता नै कर्मचारीजस्तो भएर निस्किन्छन् ।नेताहरु कर्मचारीजस्तै बन्न जाँदा आन्दोलनका उपलब्धि गुम्ने गरेको पनि प्रचण्डको भनाइ थियो ।