रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ जना घाइते, दुईको अवस्था चिन्ताजनक

१९ कार्तिक २०७५, सोमबार ०९:४७

कावासोती पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका नौ थुम्सीमा आज बिहान ५ बजे रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ।

 नारयणगढबाट भैरहवाका लागि छुटेको लु २ ख ३७९ नम्बरको रोकिराखेको ट्रकमा काठमाडौँबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस ठोक्किँदा बसमा सवार ११ जना घाइते भएका हुन्।घाइतेमध्ये नवलपरासी सुस्ता गाउँपालिका ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ बस्ने ३२ वर्षीय दिलीप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले बताए।

घाइते तीन जनाको नयाँ मेडिकल कलेज, सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले बताए।