काठमाडौं– काँग्रेस नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा अझै नसच्चिएको आरोप लगाएका छन् ।

नेता पौडेलले आगामी मंसिर ५ देखि ९ गतेसम्म बोलाएको महासमिति बैठक सर्ने भन्दै देउवाले एकपक्षीय हल्ला फिजाएको आरोप लगाए ।
‘पूर्वनिर्धारित महासमिति भेला मंसिर ५ गतेबाट बोलाइएको छ । तर, त्यो भेला सर्नसक्ने भनेर हल्ला चलाइएको छ । पौडेलले भने ‘मसँग सभापतिले यसबारे कुनै कुरा गर्नुभएको छैन ।’
आफू तोकिएकै मितिमा महासमिति बैठक गर्नुपर्छ भन्ने मान्यतामा रहेको भन्दै पौडेलले पार्टीका हरेक निर्णय सार्दै र धकेल्दै लैजादा ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी दिए ।
‘नेविसंघको हालत त्यस्तै छ । प्रत्येक वर्षमा हुनुपर्ने महासमिति तीन वर्षमा हुन लाग्दा पनि सार्न खोजिँदैछ यो के गर्न खोजिएको हो मैले बुझ्न सकिनँ’ पौडेलले देउवालाई प्रश्न गरे ।
उनले मंसिर २० गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा महासमिति बैठकबारे छलफल हुने पनि बताए ।
‘कार्तिक २० गते केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । त्यहि छलफल होला’पौडेलको भनाई छ ।
नेता पौडेलले आफूहरुले यसअघि नेविसंघको विधान पारित गर्ने बेलामा केन्द्रीय समिति बैठकमा नोटअफ डिसेन्ट लेखेकोबारेमा समेत सभापति देउवाले आफूसँग कुनै छलफल गर्न नचाहेकोमा आक्रोश पोखे ।
‘कम्युनिष्ट पार्टीमा त असहमत राख्नेलाई स्थान दिइन्छ, सोधिन्छ । तर हाम्रोमा त्यसको कुनै वास्ता भएन’ पौडेलको भनाई छ ।
