स्थापितलाई बर्खास्त गर्ने मुख्यमन्त्री पौडेलको तयारी

१५ कार्तिक २०७५, बिहीबार १८:०८

काठमाडौं । प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई बर्खास्तको तयारी गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री डोरमणि पौडेललाई अभद्र व्यवहार गरेपछि उनलाई हटाउने प्रस्ताव बोकेर पौडेल काठमाडौं आइपुगेका छन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि निर्णय लिइने मुख्यमन्त्रीको सचिवालयले जानकारी दियो ।पार्टी अध्यक्षसँग सरसल्लाह गरेपछि यसविषयमा मुख्यमन्त्रीले आवश्यक निर्णय लीने बताइएको छ । मुख्यमन्त्रीय पद्धतिमा डोरमणि आफैँले निर्णय लिन सक्नेछन् ।

प्रदेशको महत्त्वपूर्ण, विकास–निर्माणसँग सम्बन्धित मन्त्रालय सम्हालेका मन्त्री मुख्यमन्त्रीसँग समन्वय नगरी जिल्ला भ्रमणमा जाने, ब्यानर उद्घाटन गर्ने, खाली गफ गरेर समय व्यतीत गर्ने गुनासो बढेपछि मुख्यमन्त्रीले स्थापितसँग जवाफको अपेक्षा गरेका थिए ।मुख्यमन्त्रीले यस विषयमा प्रश्न उठाउनु स्वभाविकै थियो । उहाँले उल्टै हप्कीदप्की गर्दै मुख्यमन्त्रीको मानमर्दन गर्नुभयो ती मन्त्रीको दाबी छ ।उनले भने, उहाँको शुरूदेखिकै गतिविधि राम्रो छैन । गफ गरेर बस्ने उहाँको बानी छ । आर्थिक वर्ष शुरू भएको ६ महिना बितिसक्यो मन्त्रालयले कुनै परिणाम दिन सकेको छैन । एउटा मन्त्रीका कारणले सिंगो प्रदेश गतिशून्य त बनाउन भएन नि त्यसैले मुख्यमन्त्रीको ‘एक्सन’ ठीक हो ।उनले भने बुधबारको घटनाको प्रकृति हेर्दा मुख्यमन्त्री र स्थापित एउटै क्याबिनेटमा रहने अवस्था छैन ।

केही समयअघि सञ्चारकर्मी रश्मिला प्रजापतिले स्थापितविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।स्थापित काठमाडौं महानगरपालिकाको मेयर छँदा ‘प्रस्ताव’ नस्वीकारेकै कारणले जागिरबाट हात धुनुपरेको प्रजापतिको भनाइ छ । तर, स्थापितले आरोपको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए । काठमाडौँ महानगरपालिकाले पनि प्रजापतिको आरोपको खण्डन गर्दै प्रतिशोधमात्रै भएको बताएको थियो । स्थापितले सामान्य भनाभनमात्रै भएको र आफ्नो स्वरै ठूलो भएको प्रतिक्रिया दिए । उनले खरिद् ऐन र खर्च गर्ने नीति, पद्धति र विधि नै धिमा भएकाले काम गर्न नसकिएको र यही विषयमा मुख्यमन्त्रीसँग असझमदारी बढेको बताए ।