इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर जेटबाट एउटा ब्लाक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन् । नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन उक्त ब्लाक बक्सले मद्दत गर्ने अधिकारीहरुले विश्वास लिएका छन् ।
समितिका प्रमुख सोरजान्तो जाहजोनोले खोज तथा उद्धार टोलीले फेला पारेको ब्लाक बक्स एफडीआर फ्लाइट डाटा रेकर्डर हो वा सीभीआर ककपिट भ्वाइस रेकर्डर के हो भन्ने अनुसन्धान भइरहेको जानकारी दिए ।उपकरणमा विमानको गति, उचाइ र दिशाका साथै चालक दलका सदस्यहरुको कुराकानी जस्ता महत्वपूर्ण जानकारीहरु सङ्ग्रहित हुन्छन् । केही महिना अघिदेखि मात्र प्रयोगमा ल्याइएको नयाँ बोइङ–७३७ म्याक्स ८ विमान गत सोमबार इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रको जाभा समुद्रमा खसेको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै एकसय ८९ जनाको मृत्यु भएको थियो । इन्डोनेसियाका खोज तथा उद्धार टोलीले विमानको मुख्य भाग र सवार व्यक्तिहरुको खोजी गरिरहेका छन् ।
