सरकारले राष्ट्रिय परिचय पत्र छपाईको काम आजदेखि सुरु गर्ने

१५ कार्तिक २०७५, बिहीबार ०९:४८

काठमाडौं – सरकारले बिहीबारदेखि राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गर्दैछ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार पहिलो चरणमा झण्डै ५० हजार परिचय पत्र छापिनेछ ।

केन्द्रले पहिलो चरणमा परिचयपत्र छाप्न सिंहदरबारका ७ हजार कर्मचारी र पाँचथरका १ लाख १० हजार नागरिकको व्यक्तिगत विवरण संकलन गरेको छ । व्यक्तिगत र वायोमेट्रिक विवरण संकलन भएका व्यक्तिको परिचयपत्र छाप्ने केन्द्रको तयारी छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी जोशीका अनुसार परिचयपत्रमा आमाबुबाको नामसहित व्यक्तिको व्यक्तिगत विवरण हुनेछ । एउटा अर्को चिप्समा उसको फोटो र हातका १० औलाको छाप हुने भएकाले कसैले पनि परिचय पत्र नक्कली बनाउन नसक्ने उनको दाबी छ । परिचयपत्र देशभरी नै विस्तार गरेपछि अरु सेवामा पनि आवद्ध गर्न सकिने जोशीले बताए ।