निरीह प्रतिपक्ष

७ मंसिर २०७५, शुक्रबार १२:२६

डा डिआर उपाध्याय

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका खेल्न नसकेको जनगुनासो आईरहेको छ । नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्ष दलका रूपमा रहेको छ । तर सरकार बनेको नौ महिना बित्दासम्म कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन ।

प्रतिपक्ष दल भनेको छाया सरकार हो । प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रस आन्तरिक किचलोका कारण आफैं कमजोर अवस्थामा छ । यस्तो अवस्थामा आफ्नै पार्टीलाई गतिशील बनाउन सकिरहेको छैन । आफै कमजोर हुनाको कारणले पनि काँग्रेसले सरकारले गरेका गलत कदमको विरोध गर्न सकिरहेको छैन । १३ वर्षीया निर्मला पन्तको हत्या भएको १ सय १६ दिन पुग्यो । निर्मलाका बाआमा न्याय माग्दै धर्नामा बसेका छन् तर कांग्रेसका शीर्ष नेताले अहिलेसम्म चासो दिएका छैनन् । कांग्रेसले सरकारका गलत कामहरुलाई लिएर बिरोध गर्नु पर्ने बेला हो यो । नेपाली काँग्रेस मुलुककै पुरानो प्रजातान्त्रिक पाटी होे ।

२०४६ सालपछि लगातार सत्तामा बसेको कांग्रेसकै कारण मुलुकमा कतिपय विकृति एवं विसंगति भित्रिएको जगजायर नै छ । सरकार आममानिसका समस्याबारे बेखबर छ । प्रतिपक्ष दलको यही बेलामा आवश्यक पर्ने हो । जब सरकार भ्रष्ट र माफियाको संगतमा रमाउँछ, जनताको काम गर्न बिर्सन्छ तब प्रतिपक्ष दलले सरकारलाई झस्काउन सक्नुपर्छ । सरकार बनेपछि आजसम्मको स्थितिलाई हेर्ने हो भने कांग्रेसले प्रतिपक्षको भूमिका निर्बाह गर्न नसके कै हो ।