ठमेलका नाइट क्लब मा प्रवेश गर्न १८ वर्ष पुग्नैपर्ने

३० कार्तिक २०७५, शुक्रबार ०९:४१

काठमाडौं ।

काठमाडौं प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रका नाइट क्लब, डिस्को र बारमा १८ वर्षमुनिका किशोर–किशोरीलाई प्रतिबन्ध लगाएको छ । ०७५ असोज २ गतेबाट लागु भएको बालबालिका सम्बन्धी ऐन २०७५ मा टेकेर प्रहरीले ठमेल र दरबारमार्गका नाइट क्लब, डिस्को, बारलगायतका मनोरञ्जात्मक क्षेत्रमा प्रतिबन्ध लगाएको हो ।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार धुमपान, मद्यपान जुवातास जस्ता कुलतमा संग्लन गराउने, बालिगका लागि खोलीएका डान्स बार, क्यासिनोजस्ता मनोरञ्जनात्मक स्थलमा १८ वर्षमुनिका युवालाई प्रवेश दिने कार्यलाई बालबालिका विरुद्धको कसुर मानेको परिसर काठमाडौंका डीएसपी मोहन थापाले बताए ।

उनका अनुसार यस्तो कार्यमा संग्लन सञ्चालकलाई ५० हजार जरिवाना र एकवर्ष कैद सजाय कानुनले तोकेको छ ।काठमाडौंको पर्यटकीय क्षेत्रको रुपमा परिचित ठमेल र दरबारमार्गका डान्सबार, नाइट क्लब, डिस्को, दोहरी, गजल लगायतका स्थानमा १८ वर्षमुनिका किशोर–किशोरीहरुको भीडभाड व्यापक बढ्न थालेपछि प्रहरीले प्रतिबन्धको कदम चालेको परिसर काठमाडौंका एसएसपी वसन्त लामाले बताए ।

लामाले भने, ‘‘म आफैँ रातको समयमा डान्सबार, नाइट क्लब, डिस्को, दोहरी, गजललगायतको अनुगमनका निस्कँदा अधिकांश १८ वर्षभन्दा कम उमेरका भेटिए । यो कानुनी रुपमा अपराध हो । पहिलो चरणमा सबै व्यवसायीलाई बोलाएर सम्झाएको हुँ । नमानेपछि कारवाही प्रक्रिया प्रक्रिया सुरु गरिएको छ ।’’

कानुनतः १८ वर्षमुनिका किशोर–किशोरीलाई नाइट क्लब, डिस्को लगायतका क्षेत्रमा प्रवेश गराउनु नै अवैध हो । प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रका नाइट क्लब, डिस्को र बारबाट कम उमेरका १ सय १८ जना युवा–युवतीलाई पक्राउ गरी परिवारको जिम्मा लगाएको छ ।लामाका अनुसार प्रहरीका यो कदमबाट भर्खरका किशोर–किशोरीको भविष्यप्रति अभिभावक समेत सचेत हुनेछन् । प्रहरीको आग्रहलाई बेवास्ता गर्ने ६ जना सञ्चालकलाई बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार कारवाही प्रक्रिया अगाडि बढाएको परिसरका डीएसपी थापाले बताए ।

थापाका अनुसार नेपालमै बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अनुसार कारवाही थालिएको यो पहिलो मुद्दा हो । यसअघि यस्तै कार्यमा संलग्नलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइने गरिएको थियो । ऐनले प्रवेशसँगै काममा पनि १८ वर्षमुनिकाको प्रयोग गर्न रोक लगाएको छ ।