आगलागीबाट डेढ करोड भन्दा बढीको क्षति

१३ मंसिर २०७५, बिहीबार १४:१०

मुस्ताङ

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आज बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ।स्थानीयबासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा १ करोड ६५ लाख मूल्य बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार १४ कोठा भएको दुईतले घर, त्यहाँ भएका लत्ताकपडा, खाद्यान्न लगायतका धनमाल जलेर १ करोड ५० लाखको क्षति भएको छ। यसैगरी सोही घरमा सागर नेपालीले सञ्चालन गरेको दर्शन फर्निचर उद्योगमा पनि १५ लाखको क्षति पुगेको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयबासीले तीन घण्टापछि बिहान ६ बजेतिर आगलागी नियन्त्रणमा लिएका थिए। विद्युत् सर्ट अथवा आगोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए।पीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारको कोषमार्फत राहतको व्यवस्था मिलाइने गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनले बताए।