आउँदो गणतन्त्र दिवसको दिन भारतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुख अतिथि बनाउने प्रस्ताव गरेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको गणतन्त्र दिवसका नआउने भएपछि भारतले गणतन्त्र दिवसको दिन प्रमुख अतिथि कसलाई बनाउँछ भनेर अहिले भारतमा चर्चा भइरहेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गणतन्त्र दिवसमा भारत नआउने बताएपछि भारतको आँखा यतिबेला रुसतिर गएको छ । ट्रम्पको वैकल्पिक व्यक्ति रुसका राष्ट्रपति भ्लादिमिर पुटिन हुनसक्ने भारतीय सञ्चारमाध्यले चर्चा गरेका छन् ।भारतले रुसबाट मिसाइल खरिद गरेकै कारण अमेरिकी राष्ट्रपति रिसाएको हुनसक्ने भारतीय आशंका छ। पछिल्लो समय भारतले रुससँग धेरै हातहतियार खरिद गरेको छ । सैनिक तालिममा भारत रुससँग ढल्किँदै गएका कारण पनि अमेरिका रिसाएको हुनसक्ने भारतीय सञ्चार माध्यमको अनुमान छ ।
गणतन्त्र दिवसको दिन भारतले भियतनामका प्रमुखलाई पनि बोलाउने सम्भावना छ । चीनको भियतनामसँग राम्रो सम्बन्ध भएका कारण भारतले पनि भियतनामलाई आफ्नो पक्षमा पार्न आफ्नो गणतन्त्र दिवसमा बोलाउने सम्भावना प्रबल रहेको छ । चीनले भियतनामसँग भारतको बढ्दो प्रभावलाई राम्रो भने मानिरहेको छैन् । भियतनामका प्रधानमन्त्री नुवेन छुवान फुक भारतको गणतन्त्र दिवसमा अतिथिका रुपमा आउनसक्ने सम्भावना प्रबल छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘छिमेकी पहिले’ भन्ने नीति अनुसार नेपालबाट भने नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहलाई बोलाउने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नेपालमा राजाको शासन हुँदा भारतीय गणतन्त्र दिवसमा नेपालका राजा प्रमुख अतिथिका रुपमा भारतले बोलाउने गर्थ्यो । नेपालमा २०६५ सालपछि राजतन्त्र हटेपछि पनि पूर्व राजाको रुपमा ज्ञानेन्द्र शाह भारतको गणतन्त्र दिवसको प्रमुख अतिथि हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
