काठमाडौँ । चीनको साताव्यापी भ्रमण गरी उपप्रधानमन्त्री ईश्वर पोखरेल आज स्वदेश फर्किएका छन् । चीनका रक्षामन्त्री वेइ फेङहको निमन्त्रणामा आठौँ ‘बेइजिङ सियाङग्स्ट्यान फोरम’ मा भाग लिएर उनी आज स्वदेश फर्किएका हुन्
रक्षामन्त्री पोखरेललाई रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल र नेपाली सेनाका उच्च अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।चीन भ्रमणका क्रममा नेपाललाई चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई करीब रु दुई अर्ब ५५ करोड सहायता उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको थियो ।
उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घको शान्ति कार्यमा खटिएर गरेको योगदान र भावी चुनौती तथा सहकार्यका बारेमा सम्बोधन गरेका थिए ।
स्वदेश फर्केर उपप्रधानमन्त्री पोखरेल विमानस्थलबाट महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टर’ मा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति बुझ्न गएको उपप्रधानमन्त्री पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।
