काठमाडौं मलेसियाको जेट एयरलाइन्स एयर एसियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ ।

काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एसियाले यात्रुको अभाव रहेको भन्दै गएको असोज २७ गतेदेखि उडान स्थगन गरेको हो । त्यस कम्पनीले एक वर्षका लागि काठमाडौँ गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १३ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।यो विलम्ब शुल्क हो । कम्पनीले अहिलेसम्म झण्डै ३० करोड रुपैयाँ रकम बुझाइसकेको विमानस्थलले जनाएको छ । एयरलाइन्सले अवतरण ल्याण्डिङ, पार्किङ विशौनी एयर नेभिगेसन सञ्चार तथा उड्डयन सहायक सेवा विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतमा बक्यौता तिर्नुपर्नेछ । एयर एशियाले वाइड बडी ए ३३० बाट दैनिक उडान भर्दै आएको थियो ।
बाँकी बक्यौता तिर्नका लागि नेपालस्थित मलेसियाली राजदूतावासले पहल गर्ने आश्वासन दिएको छ । विलम्ब शुल्क तिर्नका लागि पहल गर्ने आशयसहित विमानस्थललाई पत्राचार गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।नेपाल पर्यटन बोर्डलाई पनि सेवा शुल्क बापतको सात करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ ।
