नेकपाका नेतामा अन्यौलता बढ्दै

१२ कार्तिक २०७५, सोमबार १३:५९

 

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को कात्तिक १२ र १३ गते बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएपछि नेताहरू असन्तुष्टि हुदै आएका छन ।

पार्टी एकताले पूर्णता नपाउँदा कार्यकर्ताहरूमा मात्रै होइन नेताहरूमा पनि अन्यौल सिर्जना भएको छ । नेकपाले अहिलेसम्म सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको मात्रै टुङ्गो लगाएको छ । बाँकी सङ्गठन एकीकरणका काम टुङ्गो लगाएको छैन ।

आइतबार पार्टी महासचिव विष्णु पौडेलले एक सूचना जारी गरी बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको जनाएका थिए । तर यसअघि कारण देखाएर बैठक स्थगित हुँदै आएको भए पनि आज र भोलि सोमबार र मङ्गलबार बस्ने भनेको बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन ।

तर सचिवालयका एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएको हुँदा र कार्यदल दिएको जिम्मेवारी पूरा गर्न समय लाग्ने भएका कारण बैठक स्थगित भएको बताएका छन् ।

गत बिहीबार बसेको सचिवालय बैठकले पार्टीका बाँकी सङ्गठनको एकीकरण साथै कार्यविभाजनका लागि भन्दै महासचिव पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादलको रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले यसअघि प्रदेश कार्यदलले बुझाएको रिपोर्टको आधारमा प्रदेश र जिल्ला कमिटीलाई पूर्णता दिने छ । साथै जनवर्गीय सङ्गठनको एकीकरण, पोलिटब्युरो गठन र विभिन्न विभागहरूको टुङ्गो पनि सोही कार्यदलले लगाउने छ । त्यसबाहेक केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने जिम्मा पनि दिइएको छ ।
पार्टी एकतापछि अहिलेसम्म दुई पटक मात्रै स्थायी कमिटीको बैठक बसेको छ ।

यसअघि तल्ला तहका सङ्गठनको एकीकरण, कार्यविभाजन र सरकारका कामको समीक्षा लगायतका एजेन्डामा छलफल गर्ने गरी स्थायी कमिटी बैठकको मिति तय भएको थियो । १२ र १३ गतेको बैठक स्थगित भएपछि अब बैठक कहिले बस्छ भन्ने टुङ्गो छैन ।

त्यस्तै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बारम्बार स्थायी कमिटीको बैठकको माग गर्दै आएकी छन् ।

नाम नबताउने शर्तमा स्थायी कमिटीका एक नेताले भने ‘१२ र १३ को बैठकमा चर्को विवाद हुने देखेपछि नेताहरूले बैठक स्थगित गरे । अब झन् कहिले बैठक बस्छ भन्ने कुनै निश्चित छैन । एक न एक दिन त बैठक बस्ला । त्यो समयको बैठक निकै पेचिलो बन्ने संकेत देखिइसकेको छ’, ती नेताले भने, ‘अध्यक्षद्वय आफ्नो आलोचना सुन्न नसकेर बारम्बार बैठक स्थगित गर्दै आएका छन् ।

नेकपाको गत साउनदेखि स्थायी कमिटीको बैठक स्थगित हुँदै आएको छ । यसअघि साउन २४ गते बसेको सचिवालय बैठकले भदौ ८ र ९ गतेका लागि स्थायी कमिटी बैठक आह्वान गरेको थियो । तर बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक को चौथो शिखर सम्मेलनलाई कारण देखाएर उक्त बैठक भदौ १९ र २० गतेका लागि सारिएको थियो ।

भदौ १९ र २० गतेका लागि तय भएको बैठक पनि नेताहरूको व्यस्तताका कारण देखाएर स्थगित भएको थियो । त्यसपछि बैठक भदौ २६ र २७ मा बस्ने भनिएको थियो तर त्यो समय पनि बस्न सकेन । त्यस पटक बैठक सार्दा चाहिँ शीर्ष नेताहरूको विदेश भ्रमणलाई कारण देखाइएको थियो । असोजमा पनि बैठक बस्न सकेन । कात्तिक १२ र १३ गतेको बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्छ भन्ने त झन् अनिश्चित बनेको छ ।