काठमाडौं–नेपाली काँग्रेसको विधान मस्यौदा समितिले विधान निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।

समितिले आगामी तीन दिनभित्र पार्टीको मुल विधानको मस्यौदा तयार गरेर पार्टीलाई हस्तान्तरण गर्नेगरी आफ्नो काम अघि बढाएको छ ।
स्रोतका अनुसार दशैं अघि नै विधानलाई अन्तिम रुप दिनेगरी काम भएपनि केही प्राविधिक कामहरु बाँकी नै रहेकाले त्यसलाई अन्तिम रुप दिन तीन सदस्यीय समितिले दिनरात काम गरिरहेको बताइएको छ ।
काँग्रेसको नयाँ विधानमा खासगरी पार्टी सदस्यताको किसिम, संख्या केन्द्रीय समिति सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेशिक महाधिवेसन प्रतिनिधि का बारेमा सहमति जुट्न सकेको छैन ।
त्यसैगरी पार्टी सभापतिको अधिकारका विषयमा पनि समितिमा फरक फरक धारणा छन् । पार्टी सभापतिलाई अहिलेको भन्दा बढि अधिकार दिने या नदिने भन्नेमा समिति सदस्यहरुबीच नै मतभिन्नता छ ।
सभापति शेरबहादुर देउवा निकटका समितिका सदस्यहरुले सभापतिको अधिकार बढाउनुपर्छ भन्ने मत राखेका छन् भने इतर पक्षले सभापतिलाई बढि अधिकार राख्दा तानशाही हुने भन्दै त्यसको विरोध गर्दै आएका छन् ।
