कात्तिक अन्तिमदेखि मलेसियाको रोजगारी खुल्ने

९ कार्तिक २०७५, शुक्रबार ०९:५५

यही महिनाको अन्तिमदेखि नेपाली कामदार मलेसिया जाने बाटो खुल्ने भएको छ । १२ गते नेपाल र मलेसियाबीच समझदारी पत्र एमओयू मा हस्ताक्षर भए पनि आवश्यक प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएकाले कात्तिक अन्तिमदेखि मात्र श्रम स्वीकृति जारी हुने श्रम मन्त्रालयले जनाएको छ ।

समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासागरन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ११ गते आइतबार नेपालआउदै छन।१२ गते नेपाल र मलेसियाबीच सरकारी स्तरबाटै कामदार लैजाने समझदारी पत्र एमओयू मा हस्ताक्षर हुने कार्यक्रम छ । एमओयूको मस्यौदमा गएको असोज १२ गते नै दुई देशबीच सहमति जुटेको थियो ।

एमओयूमा हस्ताक्षर भएपछि दुवै देशका प्राविधिक टोली कामदार लैजाने विधि र प्रक्रियाको टुंगो लगाउनेछन् । आवश्यक सबै प्रक्रियाको टुंगो लगाउन केही दिन लाग्ने भएकाले यो महिनाको अन्तिमदेखि मात्र मलेसियाको रोजगारी खुल्ने मन्त्रालयले जनाएको छ ।

विभिन्न बाहानामा कामदार ठगीमा परेको भन्दै सरकारले गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द गरेको थियो । नेपाल र मलेसियाबीच एमओयूमा हस्ताक्षर भएपछि कामदारको करार अवधि २ वर्षको मात्रै हुनेछ । समझदारी पत्रमा हस्ताक्षर भएपछि नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने छन् । यसअघि स्वास्थ्य परीक्षण, लेबी, टिकटदेखि सेवा शुल्कसम्मका सबै प्रक्रिया पूरा गर्दा मलेसिया जाने नेपाली कामदारले ठूलो आर्थिक भार व्यहोर्नु परेको थियो ।भने बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षणमा यसअघि २९ वटा मात्र मेडिकलले चलाएको सिण्डिकेट समाप्त हुनेछ भने कामदारले सरकारबाट मान्यता प्राप्त र पूर्वाधार पूरा भएको स्वास्थ्य संस्थाबाट मेडिकल गर्न सक्नेछन् ।