दशैँको समाप्तिसँगै थारु समुदायले गोठाले पर्व मनाउँछ।‘थारु समुदाय त्यसमा पनि मोरंगिया थारुहरूले यो पर्व परापूर्व कालदेखि मनाइरहेका छन्, थारु अगुवा भरतलाल चौधरीले भने, ‘आधुनिकताले अहिले हाम्रो विशेष महत्त्व बोेकेको गोठाले पर्व लोपोन्मुख अवस्थामा पुगेको छ।

महामारी फैलिएको बेला समुदायलाई बचाउन यसरी पूजा आरम्भ भएको चौधरी बताउँछन्। थारु जातिकै लोप हुने अवस्था आएपछि सन्तान माग्दै देवीको पूजा गर्ने, आफैँले कुवा, नहर तथा पोखरीमा जमेको पानीमा रहेका माछा मार्ने र चढाउने तथा नयाँ उत्पादित धानको विभिन्न परिकार ‘बगिया’ बनाएर चढाउने चलन छ। गोठाले पर्वमा कोदार, हर, पटाहा, चौकी, पेरुङ्गा, गोढ्ङ्नी, कलवा, जाल जुम्ठी, ठरा रौजी, धानके पुवार ढोछी, कुढार, टक्का भार, संसानी भार र लियानी भार जस्ता सामग्रीको विशेष महत्त्व छ।
थारुहरुको गोठाले पर्वको अवसरमा बिहीबार बुढीगंगा गाउँपालिकामा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा चौधरी समुदायका युवाले गोठाले पर्वको झल्को दिनेगरी सामग्री प्रदर्शन गरे भने युवतीहरूले मोरंगिया संस्कृतिको प्रस्तुति दिए। कार्यक्रममा सहभागी कांग्रेसका नेता विजयकुमार गच्छदारले पनि गोठाले पर्वको संरक्षण गर्नुपर्ने बताए। सांसद अमनलाल मोदीले मोरंगिया संस्कृति आफूहरूको पहिचान भएको भन्दै संरक्षणका लागि पहल गर्ने बताए। नेकपाका नेता सत्यनारायण चौधरी, थारु कल्याणकारिणी परिषदका नेताहरूले लोप हुँदै गएको पर्वको संरक्षणमा लाग्नुपर्ने बताए।
