विष्टकै निर्देशनमा नक्कली ल्याप्चे र प्रमाण नष्ट

९ कार्तिक २०७५, शुक्रबार ०८:२६

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै सरकारले एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई सेवाबाट बर्खास्त गरेको छ ।

अनुसन्धानमा लापरवाही गरेको प्रतिवेदन प्राप्त गरेपछि सरकारले दुवै जनालाई दुईपटकसम्म लिखित स्पष्टीकरण माग गरेको थियो । जवाफ चित्तबुझ्दो नभएको भन्दै दुवैलाई बिहीबार बेलुका सेवाबाट बर्खास्त गरेको हो । प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा विष्ट र भट्टले अनुसन्धानमा गम्भीर लापरवाही गरेको देखिएको भन्दै गृह मन्त्रालयले उनीहरु दुवैलाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

प्रहरी प्रधान कार्यालयका एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित अनुसन्धान टोलीले एसपी विष्टसहित इन्स्पेक्टर भट्टलाई बर्खास्त गर्न सुझाव दिएपछि प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र पठाएको थियो । त्यस्तै गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समितिले पनि अनुसन्धान टोलीबाटै गम्भीर लापरवाही भएको भन्दै प्रहरीमाथि नै अनुसन्धान गर्न भनेको थियो ।बिहीबार बेलुका गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा दुवै प्रहरीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिनेगरी बर्खास्त गरिएको उल्लेख छ । गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते मृत अवस्थामा उखुबारीमा फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रमाण नष्ट गर्ने काम पनि प्रहरीले नै गरेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । प्रहरी महानिरीक्षकसमेतको टोलीले स्थलगत अध्ययन गर्दा सो घटनामा सम्वद्ध प्रहरी कर्मचारीबाट चरम लापरवाही, गैर व्यवसायीक, र गैरजिम्मेवारपूर्ण व्यवहार गरी पालना गर्नुपर्ने अनुसन्धानका सामान्य कानुनी व्यवस्थासमेत पालना नभएको तथ्य फेला परेको तथा तत्काल प्रहरीबाट अनिवार्य रुपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा चरम लापरवाही गरिएको, बलात्कार र हत्यासँग सम्बन्धित प्रमाण लाग्न सक्ने बस्तु र भित्रि वस्त्रहरु पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालेको तथा उक्त वस्त्र नै लोप भएको, तत्काल नेपालमै नरहेका मृतकको बाबुको दस्तखत गराइएको, मृतकको शव अन्त्यष्टि गर्न पीडित परिवारलाई अनावश्यक दबाब, प्रभाव र धम्की दिएको यो सबै काम विष्टको निर्देशनमा भएको हुनाले उनीहरुलाई अब सेवामा राखिरहन उचित नदेखिएकाले प्रहरी नियमावली २०७१ बमोजिम सेवाबाट हटाउने निर्णय भएको थियो ।

यसैबीच निर्मला पन्तको हत्या भएको करिब ३ महिनासम्म पनि बलात्कारी र हत्यारा पत्ता लाग्न सकेको छैन । प्रहरीका अनुसार अहिले पनि अनुसन्धान जारी छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार अहिले थप दुईजना अनुसन्धानको घेरामा रहेका छन् । उनीहरुको पनि डीएनए परीक्षण गर्ने तयारी भइरहेको छ ।