पर्यटन मन्त्रीका स्वकीय सचिवालयका सदस्य अमेरिका जान खोज्दा विवाद उत्पन्न

८ कार्तिक २०७५, बिहीबार १४:०१

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले आफ्ना स्वकीय सचिवालयका सदस्यलाई विदेश भ्रमणमा मनोनयन गरेकोमा प्रधानमन्त्री कार्यालयले चासो राखेको छ ।

मन्त्री अधिकारीले दुईवटा विदेश भ्रमणमा आफ्ना दुईजना स्वकीय सचिवालय सदस्यको नाम राख्न प्रस्ताव गरेपछि मन्त्रिपरिषदको कार्यालयले चासो राखेको हो ।

 

 

प्रधानमन्त्री कार्यालयबाट जारी भएको भ्रमण निर्देशिका अनुसार सरकारी कोषबाट स्वकीय सचिवालयले विदेश भ्रमण गर्न पाउँदैनन् । रातो पार्सपोर्ट बेच्ने, महत्वपूर्ण देशमा गएपछि उतै लुक्ने समस्या बढेपछि स्वकीय सचिवालयका सदस्यहरुलाई त्यस्तो भ्रमणमा रोक लगाइएको थियो ।

तर, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीका स्वकीय सचिव राजेन्द्र आचार्य र मन्त्रालयका दुई उपसचिव अमेरिकास्थित मदरल्याण्ड नामक एक गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन अमेरिका जान लागेका हुन् । भ्रमण दलमा उपसचिवद्वय रामकृष्ण लामिछाने र प्रकाश ढकाल छन् ।