सरकारले निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई स्पष्टीकरण सोधेको छ ।

उनीहरुले बुधबार नै गृह मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरणमा आफूहरुले कुनै लापरवाही नगरेको बताएका छन् । लिखित रुपमा बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरुलाई बर्खास्त गर्ने तयारी सरकारले गरेको छ ।प्रहरी प्रधान कार्यालयको सिफारिसका आधार विष्ट र भट्टले अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै गृह मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।गृहसचिव स्तरीय निर्णयबाटै उनीहरुलाई वर्खास्त गर्न सकिने स्रोतले जनाएको छ ।
गृहले विष्ट र भट्टलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । उनीहरुले दुवैले प्रहरी प्रधान कार्यालय मार्फत गृहमा स्पष्टीकरण दिएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । प्रहरी प्रधान कार्यालयका एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित अनुसन्धान टोलीले एसपी विष्टसहित इन्सपेक्टर भट्टलाई बर्खास्त गर्न सुझाव दिएपछि प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र पठाएको स्रोतले जानकारी दियो ।
गत साउन १० गते साथी रोशनी वमको घरमा गएकी निर्मला साउन ११ गते मृत अवस्थामा उखुबारीमा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निर्मला हराएको भन्दै साउन १० गते साँझ नै वडा प्रहरी कार्यालयमा खबर गर्दा प्रहरीले टारेको निर्मलाका आफन्तले आरोप लगाउँदै आएका थिए ।तत्कालीन समयमा इन्सपेक्टर भट्ट नै वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख थिए ।
सरकारद्वारा गठित समितिले पनि निर्मला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले चरम लापरवाही गरेको निष्कर्ष निकालेको थियो ।दिलिपसिंह विष्टलाई मुख्य नक्कली अभियुक्तको रुपमा सार्वजनिक गर्ने सीआईबीका डीएसपी अंगुर जिसीको पनि प्रमुख भूमिका रहेको प्रहरी स्रोत बताउँछ । जिसीसहित ६ जना प्रहरी हाल निलम्बनमा छन् । निर्मला हत्या प्रकरणमा कञ्चनपुरको तत्कालीन प्रहरी नेतृत्वले प्रमाण लुकाउन खोजेको आरोप स्थानीयले लगाउँदै आएका छन् ।
