त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइन विस्तार शुरु, पाँच दिन विद्युत् अवरुद्ध हुने

७ कार्तिक २०७५, बुधबार ०९:१६

निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ ।

नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मङ्गलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा सूर्यमतीबाट चतुराले हुँदै थानसिंहसम्मको खम्बा नं २४।१ देखि २९ नं सम्म ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन सिडब्लुई०ले तार तान्न थालेको छ । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्न विसं २०६८ फागुन १४ गतेदेखि निर्माण शुरु भएको २२० केभी प्रसारणलाइनमा खम्बा गाड्ने काम अन्तिम चरणमा पुगेपछि विद्युतीय तार जडान गर्न लागिएको हो ।

नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत् त्रिशूली–काठमाडौँ प्रसारणलाइनको एकै केन्द्रमार्फत केन्द्रीय प्रसारणलाइनसम्म जोड्न ४५ किमी प्रसारणलाइन निर्माण कार्यलाई महत्वको रूपमा लिइएको छ । प्रसारणलाइन निर्माणमा यही आयोजनाअन्तर्गत नेपालमा पहिलो पटक काठमाडौँको मातातिर्थदेखि केन्द्रीय प्रसारणलाइनको स्टेशनसम्म एक किमी दूरीको विद्युतीय तार विस्तारको काम भने भूमिगत गर्न लागिएको छ ।

मङ्गलबारदेखि शुरु गर्न लागिएको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारणलाइनको विद्युतीय तार विस्तारको काम सहज बनाउन नुवाकोटको विभिन्न स्थानमा पाँच दिन दिनभर विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण शाखाका अनुसार त्रिशूली–काठमाडौँ प्रसारणलाइनको विद्युतीय तार विस्तारका लागि आगामी आइतबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् सेवा पूर्ण रूपमा बन्द गर्न लागिएको हो । वितरण शाखाले जारी गरेको सूचनाअनुसार देवीघाट जलविद्युत् केन्द्रमार्फत वितरण हुँदै आएको फिडर नं ३ अन्तर्गत पर्ने विदुर नगरपालिका वडा नं २ शेरादेखि चतुराले, मदानपुर, ककनी हुँदै ओखरपौवासम्मका एक हजारभन्दा बढी ग्राहकले उपभोग गर्ने विद्युत् सेवा पाँच दिन दैनिक नौ घण्टा बन्द हुनेछ