चितवन, रुकुम पश्चिम र रामेछापमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
चितवन इच्छाकामाना गाउँपालिका–४ स्थित सडकमा पोखराबाट धादिङतर्फ जाँदै गरेको ग २ च १७५१ नम्बरको मारुती भ्यानलाई बा १ घ ५६५ नम्बरको ट्यांकरले ठक्कर दिँदा भ्यानमा सवार ४ जना र ट्यांकरमा सवार ३ जना घाइते भई उपचारको लागि भरतपुर जिल्ला अस्पताल लगिएकोमा ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा धादिङ कल्लेरीका२५ वर्षीय चन्द्रबहादुर नेपाली, १२ वर्षीय रोशन गैरे सनाखत हुन नसकेका पुरुष व्यक्ति रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको पुरानो मेडिकल कलेज भरतपुर, मनकामना अस्पताल भरतपुर र गजुरी अस्पतालमा उपचार भइरहेको छ ।
उता, रुकुम पश्चिम मुसीकोट नगरपालिका–१ स्थित सडकमा सल्ले बसपार्कबाट खलङगातर्फ जाँदै गरेको बा ३ ख ७४६१ नम्बरको बस सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार सोही स्थान बस्ने प्रेम बिसीका ९ वर्षीय छोरा परेश बिसीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका २ जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, रामेछाप खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित सडकमा काठमाडौंबाट गाल्पातर्फ जाँदै गरेको बा ३ ख ४६७५ नम्बरको बस सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार सोही गाउँपालिका–७ पिप्ले कादेव घिसिङकी ९ वर्षीया छोरी अदिक्षा घिसिङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालकसहित ६ जनाको धुलिखेल अस्पताल, ८ जनाको नर्भिक अस्पताल थापाथली, ५ जनाको केएमसी अस्पताल सिनामंगल १ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।