दूध, पानी र तेलका धेरै उद्योग मापदण्डविपरीत : कृषिमन्त्री

१५ आश्विन २०७५, सोमबार १०:२७

 

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले दूध, पानी र तेलका अधिकांश उद्योग मापदण्ड विपरीत सञ्चालन भइरहेको बताएका छन् ।

उनले मापदण्ड विपरीत सञ्चालित उद्योगलाई कानुनको दायरामा ल्याउन प्रयास भइरहेको दावी गरे ।

 

दूधका २७ उद्योग पनि राम्रो हालतमा नरहेको र ३०र३५ वर्षदेखि सञ्चालित उद्योग पनि मापदण्ड विपरीत रहेको पाइएको उनको भनाइ छ । कृषिमन्त्री खनालले उद्योगहरुलाई गुणस्तर कायम गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गर्दै आएको बताए ।

विगतमा विदेशबाट आयातीत धुलो दूधमा पानी मिसाएर बेच्ने गरिए पनि अहिले त्यो रोकिएको कृषिमन्त्री खनालको दावी छ । खाने तेल पनि विषादीयुक्त हुँदै गएको र नियमन प्रभावकारी हुन नसकेको कृषि मन्त्री खनालले स्वीकार गरे । कृषिका समस्याहरु समाधान गर्न २५ वटा परियोजना तयार भइरहेको र त्यो आगामी तीन महिनाभित्र तयार भइसक्ने उनले जानकारी दिए ।