सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ,।

२९ आश्विन २०७५, सोमबार ०७:५६

 

३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको छ

श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको नयाँ पत्रिकामा समाचार छ ।अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोल मा रेड नोटिस जारी गरेका श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो ।श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाउने तयारी गरिएको छ ।श्रेष्ठ दुबईमा बसेर सुन र हुन्डीको कारोबार संलग्न व्यक्ति हुन् । उनले त्यहाँबाट नेपाल सुन पठाउने काम गर्थे ।

रेड नोटिस जारी गरेपछि युएईको प्रहरीले उनलाई पक्राउ गरेर तारेखमा छाडेको थियो ।दुई देशबच सुपुर्दगी सन्धि नभएको कारण युएईले उनलाई निष्काशन गरी नेपाललाई हस्तान्तरण गरेको हो । सुन तस्करका मुख्य नाइके चुडामणि उप्रेति ‘गोरे’ का भाई रमेश उप्रेतिलाई पनि नेपाल ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । उप्रेति पनि दुबईमा पक्राउ परिसकेका छन् ।

सुन तस्करी प्रकरणमा फरार रहेका व्यवसायी ठाकुर ढुंगानाले भने अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई मोरङ जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । यसअघि नेपालले गोरेसहित १३ जनाबिरुद्ध रेड नोटिस जारी गरेको थियो ।