श्रीपेच आजबाट सर्वसाधारणले हेर्न पाउने

२९ आश्विन २०७५, सोमबार १५:४४

 

शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आजबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गरेका हुन् ।उद्घाटनपछि नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरू श्रीपेच अवलोकन गर्न पाउनेछन् ।सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच राजदण्ड, तत्कालीन रानीको मुकुट टायरा तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री राखिएका छन् ।

पुरातत्व विभागले सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिने जनाएको छ । बुलेट प्रुफ सिसासहितको सोकेसमा श्रीपेच राखिएको छ ।केही महिनाअघि विभागद्वारा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो ।गणतन्त्र घोषणापछि नारायणहिटी छाड्नुअघि पूर्व राजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्ड आफैले लैजान खोजेका थिए। तत्कालीन सरकारले उनलाई  लैजाने अनुमति दिएन।