रामलीलाका रावण  कैयौँको ज्यान बचाए तर, आफू रहेनन्

४ कार्तिक २०७५, आईतवार ०८:३२

एजेन्सी

भारतको अमृतसरमा रेलले किचेर ५९ जनाको मृत्यु भयो। कैयौँ घाइते भए।

पञ्जाब प्रान्तको अमृतसरमा शुक्रबार साँझ रावणको पुत्ला दहन गरिरहेको भिडमा रेल दौडिएको थियो। त्यही भिडमा दलवीर सिंह रामलीलामा रावणको भूमिका निभाइरहेका थिए। रामलीलाको आफ्नो भूमिका सकिएपछि उनी पनि पुत्लादहन हेर्न गएका थिए। उनी पहिलोपटक रावणको भूमिकामा देखा परे। उनको रावणको भूमिका जीवनकै अन्तिम अभिनय बन्न पुग्यो।बीगतका वर्षमा रामको भूमिमा खेल्दै आएका सिंहले यो वर्ष पहिलो पटक रावण बनेर अभिनय गरेका थिए।

जब दुर्घटना भएको थियो त्यसबेला उनी रामलीलाबाट निस्केर रेलको लिक नजिकैबाट हिँड्दै थिए। त्यति नै बेला उनले तीव्रगतिको रेल देखे। उनले दौडिँदै लिक आसपासका सर्वसाधारणलाई हटाउन थाले। सिंहसँगै रावणको पुत्लादहन हेर्न उनकी आमा, श्रीमती र आठ महिनाका छोरा पनि गएका थिए। उनीहरू बाँच्न सफल भए तर दलवीर मारिए।