प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शनार्थीहरुको भीड

३० आश्विन २०७५, मंगलवार १८:३२

 

नवरात्रको आज सातौँ दिन । विषेशगरी नवरात्रको सुरुवातसँगै बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ ।

बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूर्ण स्थान छ । शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा आराधना गर्ने विश्वास गरिन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न हुन्छिन् र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको छ ।

पर्वतका राजा प्रतापी नारायण मल्लले वि सं १५५० मा राज्यरोहण गरेका थिए । उनको विवाह १५९१ मा पाल्पाका राजा मुनि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएकी थिइन् ।

पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ ।वर्षको दुई पटक चैते दशैं र बडा दशैंमा नियम पूजा जसलाई सरकारी पूजा पनि भनिन्छ हुदैँ आएको छ । नियम पूजामा पाँच बली चढाइन्छ ।

सामान्यतया पाँच बलि बोका, राँगो, कुखुरा, परेवा सुँगुर पर्दछन् । भक्तजनहरुले विभिन्न मनोकामना पूर्ण हुने इच्छा राखी पूजापाठ गर्ने, सुन चढाउने, बलि दिन बोका, कुखुरा, राँगा आदि ल्याउने गर्दछन् । मन्दिरको मूल द्वारबाट भित्र छिरेपछि दायाँतिर अखण्ड धुनी र बायाँतिर एउटा ठूलो नगरा राखिएको देख्न सकिन्छ ।