ओली सरकारले जनतालाई भ्रममा राख्योः नेता खतिवडा

२२ आश्विन २०७५, सोमबार १९:२५

 

काठमाडौं । पूर्वसांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता रामहरी खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई भ्रममा छरेर राखेको बताउनु भएको छ । कहिले सप्तकोशीमा पानीजहाज चलाउने त कहिले सगरमाथामा केबुलकार हालिदिने भन्ने भ्रम मात्रै छरेर बसेको उहाँले आरोप लगाउनु भयो ।

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै नेता खतिवडाले कम्युनिष्ट पार्टीको दुईतिहाईको सरकार हुँदा पनि जनअपेक्षित काम गर्न नसकेको बताउनु भयो ।

उहाँले भन्नु भयो , ‘कुन दिन प्रधानमन्त्री ओलीले मरेपछि पनि नेपाललीलाई स्वर्ग जान सुनको पुल बनाईदिन्छु भन्न बेर छैन ।’ उहाँले मुलुकमा बलत्कार, हत्या, अपहरण जस्ता अपराधिक क्रियाकलाप दिनदिनै बढ्दै जादाँ समेत अपराधीलाई कारबाही गर्न नसकेको बताउनु भयो ।