अमरेश सिंहले भने गोली हान्नेलाई कारबाही नगरेसम्म शव उठाउँदैनौं

१३ कार्तिक २०७५, मंगलवार १५:२५

 

काठमाण्डौ, । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले रामनगर ४ को झडपमा संलग्नहरुलाई कारबाही नगरेसम्म मृतकको शव नउठाउने बताएका छन् ।

सर्लाहीको रामनगर ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा रामविलास महतोको मृत्यु भएको छ । उनी वडाध्यक्ष रामनरेश महतोका काका हुन् । रामनरेशलाई नेकपाका कार्यकर्ताले सोमबार कुटपिट गरेका थिए ।

त्यही विषयलाई लिएर मंगलबार दुई दलका कार्यकर्ताबीच फेरि झडप भएपछि स्थिति तनावग्रत बनेको छ ।

दिउँसो घटनास्थलमा पुगेका कांग्रेस सांसद सिंह भन्छन्, ‘हिजो वडाध्यक्षलाई कुटिएको छ । आज उनकै घरमा आक्रमण गरेर गोली हानेर मान्छे मार्ने काम भएको छ ।’

उनले अघि भने, ‘मेरो माग प्रष्ट छ, म जनताको प्रतिनिधि हुँ । घटनामा संलग्नहरुलाई पक्राउ गरेर कारबाही नगरेसम्म शव उठ्दैन । आन्दोलन गर्छु, धर्ना दिन्छु ।’

मृतकलाई शहीद घोषणा गरेर पीडित परिवारलाई राहत दिनुपर्नेसमेत उनले बताएका छन् ।