यौन प्रस्ताव गर्न नदिए फेल गराउने धम्की दिने नार्कका विज्ञ पक्राउ

३ आश्विन २०७५, बुधबार १८:३१

काठमाडौं । यौनसम्पर्कको प्रस्ताव नमानेको झोंकमा आफैंले पढाउने छात्रालाई सामाजिक सञ्जालमार्फत् अश्लिल सन्देश पठाएको आरोपमा पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञ डाक्टर ५५ वर्षिय मेघराज तिवारी पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले भदौ २६ गते तिवारीलाई कार्यालयबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। तिवारीलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय अपराध मुद्धामा म्याद थपी अनुसन्धान अघि बढाएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए।

सिंहका अनुसार पक्राउ परेका ५५ वर्षिय तिवारी वरिष्ठ कृषि विज्ञ हुन्। उनी कंलकीस्थित ‘हिमालय कलेज अफ एग्रिकल्चरल साइन्स’ मा पढाउँछन्।

सोही कलेजमा बिएस्सी अध्यनरत एक २० वर्षिया छात्रालाई तिवारीले ६ महिनादेखि यौन प्रस्ताव राखेको तर छात्राले अस्वीकार गरेपछि म्यासेन्जरमार्फत् आपत्तिजनक म्यासेज पठाउने गरेको खुलेको एसएसपी सिंहले जानकारी दिए।

‘तिवारीले पीडित युवतीलाई धेरै दुस्ख दिने गरेका रहेछन्,’ एसएसपी सिंहले भने,‘आफ्नै साथीको छोरीलाई तिवारीले पटकपटक यौन प्रस्ताव राखेको देखियो। युवतीले नमानेपछि म्यासेजमा अश्लिल गालीगलौज गर्ने गरेका रहेछन्, जुन कुरा सहन नसकेर उनी प्रहरीमा पुगिन्।’

तिवारीले ती छात्रालाई यौन प्रस्ताव नमाने परीक्षामा फेल गराइदिने धम्कीसमेत दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले अन्य छात्रालाई पनि यसरी नै दुस्ख दिने गरेको अनुसन्धानमा देखिएको छ।