दशैंका लागि नयाँ नोटको वितरण सुरू

३ आश्विन २०७५, बुधबार १८:३८

काठमाडौं । दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणको तयारी थालेको छ । यसपालीको दशैंमा सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक गरी तीन सरकारी बैंकमार्फत् सटही सुविधा उपलब्ध गराउने भएको छ ।

निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइने भएको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न राष्ट्र बैङ्कले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । यसपालि ४० अर्ब रुपैयाँको नयाँ नोट साटिने लक्ष्य छ ।

आजभोलिमै निर्णय गरेर कहिलेबाट वितरण गर्ने त्यसको व्यवस्था मिलाउने बताइएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ । तर, राष्ट्र बैङ्कमै गएर साट्नेहरूले भने प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन् ।

अघिल्लो दशैंमा राष्ट बैंकले निम्न स्थानहरुबाट नयाँ नोट पाउने व्यवस्था गरेको थियो । नेपाल बैंक, काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरमा नोट साट्न सकिनेछ ।

राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानो ठिमी, विशालबजार र नक्सालबाट तथा कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार लगायतका शाखाहरुबाट वितरण सुरु गरिएको छ ।