प्रचण्डलाई अफगानी टोलीको प्रश्नः शान्तिप्रक्रिया कसरी सम्पन्न भयो ?

२८ भाद्र २०७५, बिहीबार १३:५६

 

काठमाडौं – नेपाली शान्ति प्रकियाको मोडल अध्ययन गर्न राजधानी आइपुगेको अफगानी टोलीले बिहीवार बिहान नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । टोलीले अध्यक्ष प्रचण्डसँग शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा छलफल गरेको थियो ।

प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा नयाँ मोडल भएको बताएका थिए । नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर संसारलाई एउटा सकरात्मक सन्देश दिएको कुरा भेटमा प्रचण्डले बताएका थिए ।

प्रचण्डले नेपालको शान्ति प्रक्रियाबाट नेपाली जनताले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी लगायतका उपलब्धि पाएको बताए ।

भेटमा अफ्गानस्तान उच्च शान्ति परिषद्की उपप्रमुख पूर्वमन्त्री डा हबिबा साराबीले अफ्गानस्तान शान्तिप्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्तिप्रक्रियाबाट सिक्न आफूहरू नेपाल भ्रमणमा आएको जानकारी दिइन् ।

उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरू इच्छुक रहेको बताइन् ।

भेटमा भ्रमण दलका सदस्यहरूले नेपालमा जनयुद्धको क्रममा हतियारको स्रोत, पूर्व जनमुक्ति सेनासँग भएको हतियारको अवस्था र शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको काम कारवाहीबारे पनि जिज्ञासा राखेका थिए ।