काठमाडौं । दशैंको मुखमा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् । पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् ।
आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । ४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ ।
यस्तै आँटा १० रुपैयाँ बढेर प्रतिकिलो ५० रुपैयाँ पुगेको छ । तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् भटमासको तेल, सुर्यमुखी तेल, तोरीको तेलमा प्रतिलिटर १५ रुपैयाँ बढेको छ । अहिले भटमासको तेल प्रतिलिटर १४०, सुर्यमुखी १५०, तोरीको तोल १६०, बनस्पती घ्यु १४० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले जानकारी दिए । ठूला व्यापारीले नै मूल्य बढाएकाले खुद्रा बजारमा महंगो पर्न गएको उनको दावी छ ।
चिनीको भाउ पनि बढयो
अहिले बजारमा चिनीको मूल्य पनि बढेर आकासिएको छ । सरकारले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न भन्दै चिनीको आयातमा कोटा तोकेपछि व्यापारीले मूल्यवृद्धि गरेका छन् । अहिले चिनीको खुद्रा विक्रि मूल्य प्रतिकिलो ७५ देखि ८० रुपैयाँ पुगेको छ । यसअघि स्वदेशी चिनीको मूल्य ७५ रुपैयाँसम्म थियो भने बजारमा आयातित चिनी ६५ देखि ६८ रुपैयाँसम्ममा पाइन्थ्यो । तर आयात रोकिएसँगै व्यापारीले चिनीको मूल्य ८० रुपैयाँसम्म पुर्याएका हुन् ।
चिनीको मूल्य दशैंसम्म अझै बढ्ने देखिएको खुद्रा व्यापारी बताउँछन् । सरकारले चिनीको आयातमा एक लाख मेट्रिक टनको कोटा तोकेपछि आन्तरिक बजारमा चिनीको मूल्यमा व्यापारीको मनपरी देखिएको छ ।
भारत, पाकिस्तान, बंगलादेशबाट सस्तोमा आयात गरिसकेका व्यापारीले स्टक रहेको चिनीकै मूल्य बढाएको खुद्रा व्यापारीहरु बताउँछन् ।