
राम बहादुर चौहान
दुई वाम पार्टी एकता भएपछि सबै जिल्लामा पदीय बाडफाँड भइरहेको छ । अधिकांश जिल्लामा एकले अध्यक्ष पाए अर्कोले सचिव पाउने सहमति बनेको छ । अर्घाखाँचीमा पूर्वएमालेलाई अध्यक्ष र पूर्वमाओवादी केन्द्रको भागमा सचिव परेको छ । अर्घाखाँची जिल्ला अध्यक्षका लागि पीताम्बर भुसाल सिफारिस भएसँगै चरम विवाद देखिएको छ । अध्यक्षमा सिफारिस गर्दा आफूलाई अन्याय भएको भन्दै तत्कालीन एमालेका जिल्ला सचिव रामबहादुर चौहान न्याय खोजिरहेका छन् । २०३८ सालदेखि नै राजनीतिमा सक्रिय रहेका चौहान संघ र प्रदेशको निर्वाचनमा निर्वाचन परिचालन कमिटिको सचिव भएका थिए । यसरी एकपक्षीय रुपमा सिफारिस गरेर पार्टीको विधि प्रक्रियालाई लत्याएर गरिएको सिफारिसले आफूजस्ता इमान्दार र योग्य तहका नेताहरुको अपमान भएको भन्दै चौहान नेकपाका शीर्ष नेतालाई भेटेर यसलाई सच्याउन र पार्टीलाई पद्धतिमा चलाउन आग्रह गरेका छन् ।बाँकी उनकै शब्दमा
जब पार्टी एकता भयो, स्वभाविकै रुपमा दुई पार्टीका नेताहरुले मिलेर जिल्ला हाँक्ने हो । अर्घाखाँची पूर्व एमालेको भागमा परेको छ । तर, जिल्लाबाट अध्यक्षका लागि व्यक्ति सिफारीस गर्दा सकिन्छ जिल्ला कमिटिको बैठकबाट, नसके सचिवालयको बैठक राखेर नाम सिफारीस गर्नुपर्ने हो । तर, हामीसँग कुनै परामर्श नगरी एकाएक सामाजिक सञ्जालहरुमा फलानोलाई कार्यदलले एक मात्रै नाम सिफारीस गरेको छ भनेर आयो । त्यसपछि मैले जिल्ला अध्यक्ष, जिल्ला इन्चार्ज, प्रदेश संयोजक लगायतसँग मैले कुरा राखेको हुँ । मैले किन हामीसँग परामर्श गरिएन भनेर प्रश्न गरे । मैले केन्द्रिय अध्यक्षद्धय, महासचिव, बरिष्ठ नेता लगायतलाई भनिसकेको छु । नेकपा अत्यन्तै विवेकशील पार्टी हो । यसले कसैलाई अन्याय गर्दैन, सर्वसाधारण जनतामाथि अन्याय गर्दैन भन्ने छ । त्यसैले केन्द्रिय नेतृत्वले सच्याउने छ भन्नेमा म विश्वस्त छु ।
